Trending :
 

जलहरी राख्दा सुन हराएको महालेखा प्रतिवेदनको कुरा संसद्को रेकर्डबाट हटाउनु आपत्तिजनक

जेठ २६,२०८०

-आस्था न्यूज

जेठ २६, २०८० काठमाडौं।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा सुन हराएको महालेखाको प्रतिवेदनको कुरा संसद्को रेकर्डबाट हटाइएकोमा आपत्ति जनाएका छन् । 
 
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले संसद्लाई हल्का रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरे । 
 
‘कसैको सत्ता आवेग, सत्ता पाउने वा नपाउने आवेगको केन्द्र संसद् नबनोस् । संसदमा छलफल हुने विषय वस्तु रेकर्डबाट हटाउने परम्परा अन्त्य होस् । हामी संसद्लाई सार्वभौम सत्ता सम्पन्न बनाउन चाहन्छौँ । महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो सुन ९२४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो सुन ९ सय ७६ ग्राम सुन बेपत्ता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ,’ उनले भने- ‘ त्यो कुरा संसदमा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिएको हो । त्यो कुरा बोल्दाखेरि संसद्को रेकर्डबाट हटाउने कुराको म विरुद्धमा छु । यी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसदबाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन । यो विषय संसदमा छलफल हुनुपर्छ ।’