करका दर हेरफेरका क्रममा सूचना नचुहाएको अर्थमन्त्री महतको प्रष्टीकरण
-आस्था न्यूज
जेठ २६, २०८० काठमाडौं।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महतले भ्याटको दर घट्दै जाने र छुट हरेक वर्ष बढ्दै जाने प्रवृतिलाई हटाइएको र राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका हुन्।
अर्थतन्त्रलाई सहज बनाउनका लागि बजेटले चालेको कदमका विरुद्ध केहि स्वार्थ समूहहरू विरोधमा उत्रेको उनको भनाइ छ। उनले करको दायराले स्वदेशमा नै उत्पादन हुने प्याज आलू जस्तो वस्तुलाई कुनै असर नपर्ने र आयातलाई निरुत्साहन गर्नका लागि करको प्रस्ताव ल्याइएको जिकिर गरे।
विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा आमनागरिकलाई असर नगर्ने उनको भनाइ छ । विधुतीय सवारीमा कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको अर्थमन्त्रीले बताए ।
उनले विद्युतीय सवारी साधनमा करको दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो भएको जिकिर गरे । त्यस्तै उनले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्रभाकारी खर्च ,नीजि क्षेत्रको सहि तवरले परिचालन भए सम्भव रहेकाले महत्वकांक्षी नभएको दावी गरे।