ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्ष १० भित्र एक जना मात्रै नेपाली
-आस्था न्यूज
जेठ २८, २०८० काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीचको खेलसँगै यस सिजनको लिग सकिएको हो ।
यस सिजनको लिगको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ । चर्च ब्वाइजले डेब्यु सिजनमै लिगको उपाधि जितेको हो ।
यस्तै एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएको छ । यस सिजन सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा विदेशी खेलाडीको राज रह्यो ।
सर्वाधिक गोल गर्ने शीर्ष १० भित्र मात्र एक जना नेपाली खेलाडी रहे । नेपाली राष्ट्रिय टोलीका फरवार्ड तथा सातदोबाटो युथ क्लबमा दिपक राज सिंह ठकुरी शीर्ष १० भित्र अटाए ।
प्रतियोगितामा २५ खेल खेल्दै १२ गोल गरेका दिपक पाँचौं स्थानमा रहे । सर्वाधिक गोलकर्ता मछिन्द्र फुटबल क्लबमा आफिज ओलावाले रहे । उनले २२ खेलमा २३ गोल गरे ।
खुमलटारका मेसुके ओलुमोउ २३ खेलमा १८ गोल गर्दै दोस्रो स्थानमा रहे । जावलाखेलका एन्कोटो मोसाबी १६ गोल गर्दै तेस्रो र फ्रेन्ड्सका राफिक अमिनु १४ गोल गर्दै चौंथो स्थानमा रहे ।
खुमलटारका स्टेफन समिर १० गोल गर्दै छैटौं, मनाङका कोफी टिमोथी ९ गोल गर्दै सातौं, पुलिसका अहमद हिजाजी ८ गोल गर्दै आठौं, पुलिसका मोसेस ८ गोल गर्दै नवौं र फ्रेन्ड्सका टोरिक जेब्रिन ८ गोल गर्दै दशौँ स्थानमा रहे ।