Trending :
 

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमको बिदाइ

जेठ २८,२०८०

-आस्था न्यूज

जेठ २८, २०८० काठमाडौं ।
आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ ।
 
अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे ।
 
सोमबार फिलिपिन्सको जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ । जहाँ मध्यपूर्वका लेवनान र कुवेतसहितको सहभागितामा साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।
 
शनिबारसम्म शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा रहेका कारण नेपालले एकीकृत अभ्यास र तयारी आइतबारदेखि मात्र सुरु गरेको हो ।
 
 
यद्यपी लिग नभएको समयमा गरिएको रणनीतिक तयारीका आधारमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले गत साता २३ सदस्यीय टिम घोषणा गरेका थिए ।
 
अघिल्लो संस्करणको उपविजेता टिम नेपालका लागि यसपल्ट कठिन समूहमा सोही नतिजालाई दोहोर्‍याउन चुनौति हुनेछ । नेपाल रहेको समूह ए मा भारत, कुवेत र पाकिस्तान छन् ।
 
नेपालले पहिलो खेल कुवेतसँग ६ असार, दोस्रो खेल ९ असारमा आयोजक भारत र समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्नेछ ।
 
प्रतियोगिताको समूह बी मा लेवनान, भुटान, माल्दिभ्स र बंगलादेश छन् ।