Trending :
 

पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा बोल्न मान्दैनन् ओली

जेठ २८,२०८०

-आस्था न्यूज

जेठ २८, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा बोल्न मानेनन्।
 
आइतबाट नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओलीलाई पत्रकारहरूले उमेर हद निलम्बन गरिएको विषयबारे जिज्ञासा राखेका थिए।
 
‘एमालेमा उमेर हद हटाएपछि तपाईंलाई पुनः अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसबारे के भन्नुहुन्छ,’ पत्रकारले सोधेको थिए।
 
तर, त्यसबारे कुनै जवाफ नदिई अध्यक्ष ओली ‘यी चित्र राम्रा छन्’ भन्दै पन्छिएका थिए।
 
पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो।
 
त्यो व्यवस्था १० औं महाधिवेशनबाट निर्वाचित हुँदाका बखत लागु नहुने तर अधिवेशनपछि कार्यकारी कमिटीमा बस्न उमेर हद लाग्ने थियो।
 
तर, गत जेठ १९ गते बसेको सचिवालय बैठकले तत्कालका लागि त्यो व्यवस्था निलम्बन गरेपछि एमालेकै नेता कार्यकर्ता रूष्ट बनेका छन्।
 
पार्टीका नेताले नेकपा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितका नेतालाई कमिटीमा जिम्मेवारी दिन विधानका धारा १०१ अनुसार बाधा अड्काउ फुकाएको बताएका छन्।