जलन पीडितको उपचार गर्न सामान्य अस्पतालमै आईसीयू राखे पुग्ने सांसद भण्डारीको भनाई
-आस्था न्यूज
जेठ २९, २०८० काठमाडौं।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगो, ग्यास, बिजुलीलगायतका प्रज्वलनशील प्रदार्थको जलनबाट पीडितको उपचार गर्नका लागि सरकारले सबैजसो अस्पतालहरूमा आईसीयूको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
जलनको उपचार गर्न भनेर ठूला भवनवाला अस्पताल निर्माण गर्नुभन्दा सबैजसो जिल्लाका अस्पतालहरूमा आईसीयू बेड थप गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद भण्डारीले जलनबाट पीडितहरूको विषयमा राज्यका महत्त्वपूर्ण निकायमा रहेकाहरूको ध्यान नगएको र नीति निर्माताहरूले पनि बेवास्ता गरिरहेको बताए ।
बर्न भ्वाइलेन्स सर्भाइबर्स नेपाल (बीभीएस) ले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा सांसद भण्डारीले आफूमा पनि जलनबाट पीडित भएपछि मात्रै यो विषयमा बोल्नपर्छ भन्ने लागेको बताए । जलनबाट पीडितको उपचारका लागि सरकारले यस्ता ठूला बिल्डिङ बनाउनु पर्दैन ।
सामान्य हस्पिटल आइसीयू सेन्टर चाहिने रहेछ, उनले भने । सरकारले अस्पतालहरूमा आईसीयू बेड थप्ने योजना अगाडि सार्नुपर्ने सुझाव राखेका थिए ।
नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदा जलन पीडितको उपचारका लागि कुनै योजना नल्याएको अवस्थामा आफू संसद्मा गएर बोल्न तयार भएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि कुरा राखेपछि बजेटमा जलन पीडितको उपचारको व्यवस्था गर्ने योजना ल्याएको उनले बताए । ुम यसमा परेँ । यसले अत्यन्तै पीडा हुन्छ । यस्तो पीडामा बाँच्न मन कसैलाई पनि लाग्दैन । म परेको कारणले गर्दा कमसेकम आजाव त उठाउन पाएँ भन्ने पनि लाग्छ, उनले भने ।
जलनबाट पीडितको उपचार र औषधि गर्न अत्यन्त महंगो हुने भएकाले सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताए । नेपालको उच्च ओहदामा रहेकाहरूमा कसैलाई पनि त्यस्तो व्यवस्था गरौं भन्ने नलाग्ने गरेको उनले बताए । नेपाल मिडिसिनको हब बन्ने रहेछ । तर नेपालमा गरौं भन्ने कसैलाई रहेनछ । नत्र एउटा हस्पिटल त बन्थ्यो नि !,उनले भने ।
नेपालमा अग्नीजन्य दुर्घटनाका पीडितहरूको उपचार गर्ने नेपालमा पर्याप्त दक्ष जनशक्ति रहेको उनको भनाइ थियो । तर, उपचारका लागि आवश्यक पर्ने मेसिन भने उपलब्ध नभएको उनको भनाइ थियो । त्यसका लागि सरकारले लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालका विज्ञहरूले पनि यस्ता कुरामा ध्यान दिन नसकेको भण्डारीको गुनासो थियो । उनले विकासका नाममा सडक र भवन मात्रै देख्ने गरिएको तर यस्ता संरचना स्थापनामा भने ध्यान नगएको बताए । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका आवश्यकताको पहिचना हुन नसकेको उनको भनाइ थियो ।