नक्कली शरणार्थी प्रकरणः प्रतिवादी तर्फका अधिवक्ता इजलासमा कड्किएपछि...
-आस्था न्यूज
जेठ ३१, २०८० काठमाडौं ।
‘के अभियोजन गरेको हँ यो ?’ नेपाल बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी मंगलबार काठमाडौं जिल्ला अदालतको इजलासमा कड्किए, ‘यस्तो पनि मुद्दा हुन्छ कहीँ ?’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिलले ‘अर्थ न बर्थ’ मुद्दा चलाएको जिकिर गर्दै उनले सोधेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले विषयमा आउन पटक पटक आग्रह गरे । तर पनि प्रश्न दोहोरिएपछि न्यायाधीश न्यौपानेले भने, ‘यो मैले लगाएको मुद्दा हो र मसँग जंगिएको ? कृपया तर्कपूर्ण बहस गर्नुहोला ।’
अधिवक्ता केसीले खाणविरुद्ध राज्य नै लागेको दाबी गरे । ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन लागेको भनेर खाणलाई अभियोग लगाइनु आपत्तिजनक छ । खासमा खाणविरुद्ध राज्य नै लागेको छ’ उनको प्रतिक्रिया पूरा हुँदा नहुँदै न्यायाधीश न्यौपानेले सोधे, ‘राज्यविरुद्धको मुद्दामा राज्य नलागे को लाग्छ त, राज्य नलडे को लड्छ रु’
केसीले पीडितले दिएको जाहेरीको कागज पढेर सुनाउँदै भने, ‘पीडितले दिएको जाहेरीमा मेरो पक्षको नामै छैन श्रीमान् । बरु, सचिव टेकनारायण पाण्डेलाई एआईजी कार्यालयमा बोलाएर जबर्जस्ती खाणको नाम पोल्न लगाइएको हो । मन्त्रालयका कर्मचारी सागरमणि पाठक र फणीन्द्र पोखरेलहरूले तथ्यहीन गवाही दिएका हुन्, त्यसैका आधारमा मुद्दा चलाइएकाले पनि राज्य षड्यन्त्रमा लागेको पुष्टि हुन्छ ।’
हिरासतमा रहेका १८ प्रतिवादीका तर्फबाट बहस सक्न न्यायाधीश न्यौपानेले मंगलबारसम्मको समय दिएका थिए । तर, केसीलगायत खाणका पक्षमा १० जनाले वकालत गरेपछि मंगलबारको समय पनि सकिएको छ ।
पूर्वगृहमन्त्री खाणका तर्फबाट केसीका अलावा कानुन व्यवसायीहरू हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । सुरुको बहसमा अधिवक्ता कर्णले झन्डै दुई घण्टा समय लिएर आरोपको प्रतिवाद गरे । ‘पीडितले दिएको जाहेरीमा खाणको नाम कतै थिएन तर जबर्जस्ती मुद्दामा तानिएको हो’ उनको तर्क थियो ।
साँझ ६ बजेपछि पनि खाणका पक्षमा बहस नसकिएपछि न्यायाधीश न्यौपानेले इजलास बन्द भएको घोषणा गर्दै बुधबारबाट खाणबाहेक अन्य प्रतिवादीका वकिललाई तयार हुन उर्दी दिए । तर, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले थप समयका लागि अनुरोध गरे । भने, ‘यति थोरै समयले कहाँ पुग्छ र श्रीमान् रु हाम्रो त पालै आएको छैन ।’
न्यायाधीश न्यौपानेले प्रतिवादीहरूका तर्फबाट सीमित वकिलले अर्थपूर्ण बहस गर्न र तर्क नदोहोर्याउन अनुरोध गरे पनि सबैजसोले उस्तै विषय दोहोर्याएका छन् । तर, फेरि पनि सबै वकिलले बोल्न पाउनुपर्ने माग गरेपछि न्यायाधीशले भने, ‘तपाईंहरूसँग अदालतले नसक्ने रहेछ, इजलास निरीह भयो, मैले हात उठाउनुपर्ने भयो अब ।’ यति भनेर उनी इजलासबाट बाहिरिए ।
पक्राउ परेका १८ प्रतिवादीका तर्फबाट ११० जनाको वकालतनामा परेको छ, जसमध्ये मंगलबारसम्म ६५ जनाले मात्रै बहस सकेका छन् । खाणका १० अधिवक्ताले बहस गरे पनि उनका तर्फबाट २४ जनाको पालो अझै आएको छैन । त्यसपछि टेकनाथ रिजालका तर्फबाट १६ जना अधिवक्ताको पालो आउनै बाँकी छ ।
आङटावा शेर्पाका तीन, हरिभक्त महर्जनका दुई र शमशेर मियाँ तथा लक्ष्मी महर्जनका एकरएक अधिवक्ताले बहस गरेपछि पूरै एक दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश न्यौपानेले आदेश दिनेछन् । आजको कान्तिपुरमा खबर छ ।