Trending :
 

नेप्सेमा १३५ अंकको वृद्धि, ५ अर्ब बढिको कारोबार

जेठ ३१,२०८०

-आस्था न्यूज

जेठ ३१, २०८० काठमाडौं ।
तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ ।
 
बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा-डे’ मा १८०७.५३ अंकसम्म झरे पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ ।
 
‘इन्ट्रा-डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट ४६ अंक भन्दा माथिले वृद्धि भई २०६७.१० अंकको उच्च विन्दु कायम गर्दा २०१५.१९ अंकसम्म झरेको थियो । करिब ५२ अंकको उतारचढाव भएको नेप्सेमा होटल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, लगानी निर्जीवन बीमा व्यापार उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त र जीवन बीमा उपसूचकमा वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेर बन्द भएको हो ।
 
बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।