एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपालले जिम्बाब्वेसँग खेल्दै
-आस्था न्यूज
असार ३, २०८० काठमाडौं ।
आईसीसी विश्वकप छनोटको पहिलो खेलका लागि आज (आइतबार) मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बाब्वेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बाब्वेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आज हरारे स्पोर्ट्स क्लबमा नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुने नेपाल र जिम्बाब्वेबीचको खेल यी दुई टिमबीचको पहिलो एकदिवसीय मान्यताप्राप्त क्रिकेट बन्नेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।
नेपाल १० दिनको दक्षिण अफ्रिका बसाइँपछि जिम्बाब्वे गएको थियो । नेपालले जिम्बाब्वेमा पनि दुई वार्म अप खेल खेलेको थियो । पहिलो ‘वार्म अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने ओमानलाई तीन विकेटले हराएको थियो ।
नेपाल हालसम्म एकदिवसीय विश्वकपमा छनोट हुन सकेको छैन । यसअघि, नेपालले सन् २०१९ को विश्वकपका लागि २०१८ मा भएको छनोटमा नेट रनरेटका कारण सुपर सिक्ससम्मको यात्रा पनि तय गर्न सकेको थिएन ।
विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् । समूह ‘बी’मा आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् ।