Trending :
 

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन

आषाढ ०५,२०८०

-आस्था न्यूज

असार ५, २०८० काठमाडौं ।
संघीय संसद्‌को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।
 
धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किंदै गएपछि यस सम्बन्धमा छलफल गर्न संघीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।
 
समितिले मुख्य गरी दुई विषय पहिलो गत जेठ २९ मा धितोपत्र दलाल र धितोपत्र व्यवसायीको नयाँ लाइसेन्स स्थगन गर्न आफैंले दिएको निर्देशन अब सुचारु गर्न र दोस्रो अनुमति दिँदा मापदण्ड पुगेकालाई मात्र दिने र यसका लागि धितोपत्र बोर्ड र नेप्सेलाई सतर्क हुन अर्थ मन्त्रालयमार्फत अनुमति दिने निर्णय गरेको छ । ब्रोकर लाइसेन्सको विषयमा सर्वोच्च अदालतले पनि अनुमति दिएकाले समितिले त्यसमा हस्तक्षेप गर्न नहुने बैठकमा उपस्थित अधिकांश सांसदहरुको धारणा थियो ।
 
गत साता समितिले ब्रोकर र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्‍न निर्देशन दिएको थियो । स्टक एक्सचेञ्जको विषय मन्त्रिपरिषद्ले नै रोकेकाले आज समितिमा त्यसबारेमा चर्चा नै भएन ।
 
धितोपत्र बोर्डले ४३ वटा ब्रोकरलाई आशयपत्र दिएकोमा १८ वटालाई सञ्चालन अनुमति नै दिएको छ । हाल ५० वटा ब्रोकर सञ्चालनमा छन् ।