Trending :
 

व्यक्तिले विचार, सोच र शैली सृजनात्मक ढंगले विकास गरेमा परिवर्तन सम्भव छः प्रधानमन्त्री

आषाढ ०५,२०८०

-आस्था न्यूज

असार ५, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
 
प्रचण्डले भने, मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुविकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’
 
प्रधानमन्त्री प्रचण्डले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सधैं उच्च मूल्याङ्कन गर्ने गरेको बताए । ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीको क्रममा भएको हो । मानव र अरु प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ।
 
अहिले २१ औं शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीब्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ,उनले भने। 
मलाई विश्वास छ,तपाईंहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहित गर्न आ-आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ,प्रधानमन्त्री प्रचण्डले भने।
 
उनले वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए । उनले भने,‘त्यसको लागि आफैंभित्र सबैभन्दा पहिला सुशासनको सुरुवात गर्नुपर्दछ ।’
 
उनले नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए।