Trending :
 

आफैँले बनाएको नियमावलीको उल्लंघन गर्दै बैठकमा उपस्थित हुदैनन् सांसद

आषाढ ०६,२०८०

-आस्था न्यूज

असार ६, २०८० काठमाडौं ।
आफैँले बनाएको नियमावलीको व्यवस्था उल्लंघन गर्दै प्रतिनिधिसभाका सदस्यहरू संसद्मा अनुपस्थित हुने गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको पहिलो अधिवेशनमा दुई सय पाँच सांसद विभिन्न बैठकमा सूचना नै नदिई अनुपस्थित भएका छन् । 
 
एकराम गिरी प्रवक्ता, संसद् सचिवालय
 
प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । पूर्वसूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरूको संख्या पनि ठूलो छ । यसपटक नयाँ दल र अनुहार चुनिएर आएकाले संसद्भित्र ऐन–नियम पालना हुने र सार्थक बहसको थलोमा जनप्रतिनिधि जवाफदेही बन्ने अपेक्षा थियो । तर, अनुपस्थितिका मामिलामा विगतकै प्रवृत्तिको दोहोरिएको छ । 
 
२५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा हाजिर गरेर टाप कस्ने र कोरम नपुगेर बैठक स्थगित हुने समस्या पटक–पटक देखिएको थियो । धेरै सांसदले सूचना नदिई बैठकमा अनुपस्थित भएर नियमावली उल्लंघन गरेको हाजिरी विवरणले देखाउँछ । पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी पहिलो अधिवेशनमा २९ बैठक चलेका थिए । 
 
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित भए । सांसदको हाजिरी रेकर्डअनुसार दिलेन्द्र बडू, देवराज घिमिरे, नागिना यादव, रघुजी पन्त, रामहरि खतिवडा, रुक्मणि राना बराइली, विना लामा, विनिताकुमारी सिंह, शान्ति श्रेष्ठ, संगीता मण्डल धानुक, हितराज पाण्डे र ज्ञानु बस्नेत सुवेदी सबै बैठकमा उपस्थित छन् ।
 
११ सांसद सूचना दिएर अनुपस्थित भएका छन् । उपचारको क्रममा रहेकाले मनोरमा शेरचन २९ दिन, वर्षमान पुन र विनाकुमारी थनैत २६ दिन तथा चन्द्र भण्डारी १८ बैठकमा अनुपस्थित रहे । सिके राउत, एकनाथ ढकाल, गोमा लाभ, शहनाज रहमान ९दिवंगत०, हरि ढकाल र इन्दिरा राना ९उपसभामुख० तथा पुष्पकमल दाहाल (प्रधानमन्त्री) सूचना दिएर केही दिन अनुपस्थित रहेको संसदको रेकर्ड छ । 
 
संसद् सचिवालयको रेकर्डअनुसार दुई सय पाँच सांसद सूचना नदिईकनै विभिन्न बैठकमा अनुपस्थित रहेका छन् । ४६ सांसदले धेरै दिन अनुपस्थित रहेर थोरै दिनको सूचना दिएका छन् । त्यसमध्ये एमालेका लक्ष्मी महतो कोइरी एउटा बैठकमा मात्रै उपस्थित भएर फरार छन् । हाल निलम्बनमा रहेको उनले २५ माघदेखि लागू हुने गरी २१ बैठकको इमेलमार्फत अनुपस्थितिको सूचना दिएका छन् । त्यसअघिका सातवटा बैठकको उनले सूचना नै दिएनन् । कांग्रेसका टेकबहादुर गुरुङ भने सुरुदेखि नै निलम्बनमा छन् । 
 
लगातार १० वटा बैठकमा सूचना नदिई अनुपस्थित भएमा स्वतः पद रिक्त हुने बाध्यात्मक व्यवस्था भएकाले त्यस्तो अवस्थामा सांसदहरूले ढिलो गरेर सूचना दिने गर्छन् । तर, त्यसभन्दा तलका बैठकमा सूचना नदिई मनपरी अनुपस्थित हुने प्रवृत्ति छ । लगातार १० वटा बैठकमा अनुपस्थित भए पनि सांसदहरूले त्यसको सूचना भने अधिवेशन अन्त्य हुने वेला मिलान गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।