राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने वर्षमान पुनको भनाई
-आस्था न्यूज
असार ६, २०८० काठमाडौं ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बुधवार पुनले जनताको विश्वास जित्न नेतृत्वले संवाद गर्नुपर्ने तथा उनीहरूका प्रश्न र गुनासाको जवाफ दिनुपर्ने उल्लेख गरे ।
प्रजातान्त्रिक र खुला समाजको चरित्र नै नेतृत्व जनतासँग संवादमा रहनुपर्ने भए पनि त्यसो नहुँदा समाजमा भ्रम पैदा भइरहेको उनको भनाइ थियो ।
सरकार र सरकारी निकायको उच्च नेतृत्वमा रहेकाहरूले सेवा प्रवाहका क्रममा कुनै समस्या वा सीमितता भए नढाँटी जनतालाई बताउन सक्नुपर्ने बताए ।
‘सरकार र सरकारी निकायको नेतृत्वमा भएकाहरूले जनताका हरेक सवालका जवाफ दिनुपर्छ । समस्या छन् भने बताउन सक्नुपर्छ’, पुनले भने, ‘सरकारी निकायका पनि समस्या र सीमितता हुन्छन् । यो संसारभरकै सरकारका हकमा लागू हुन्छ । सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ । तर, सरकारी सेवा प्रवाहमा भएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामा अनिवार्य पक्ष हो ।’
काममा ढिलाई हुँदा वा सेवा प्रवाह प्रभावकारी नहुँदा सेवाग्राहीमा मन्त्री र सचिवले पक्कै पनि चलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास भएको पुनले उल्लेख गरे । जनतासँग संवाद नहुँदा कतिपय अवस्थामा नेतृत्वमाथि नखाएको विष पनि लाग्ने गरेको चर्चा उनले गरे ।