Trending :
 

वीरगन्ज महानगरद्धारा आगामी आ.व. का लागि तीन अर्ब २१ करोड ३५ लाखको बजेट सार्वजनिक

आषाढ ०६,२०८०

-आस्था न्यूज

असार ६, २०८० काठमाडौं ।
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। 
 
वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष ०८०र८१ का लागि उक्त अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेका हुन्। 
 
नगरसभाको १२औँ अधिवेशनले चालू आर्थिक वर्षका लागि तीन अर्ब ३३ करोड ६३ लाख दुई हजार रुपैयाँबराबरको बजेट ल्याएको थियो। चालू आर्थिक ०८९/८० को भन्दा आगामी आर्थिक वर्षको झन्डै १२ करोड ३२ लाख कम बजेट आएको छ। 
 
यसपटक कुल बजेटमध्ये चालूतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ अर्थात् ७७ प्रतिशत र पुँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात् एक प्रतिशत बजेट छुट्याइएको छ।
 
बुधबार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ। 
 
वीरगन्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजस्व बाँडफाँट २१ करोड १२ लाख रुपैयाँ, ससर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। 
 
वीरगन्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। 
 
यस्तै, प्रदेश वित्तीय हस्तान्तरणबाट चार करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँडबाट दुई करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजारको अनुमान गरिएको छ।
 
यस्तै, आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको छ। 
 
यस्तै, लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, वासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ।