आफुहरुका लागि ठुला दलहरूको मोर्चा नौलो नरहेको रवि लामिछानेको टिप्पणी
-आस्था न्यूज
असार ७, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरूले गर्ने गठबन्धन आफूहरूका लागि नयाँ विषय नभएको बताएका छन् । वैशाखमा सम्पन्न उपनिर्वाचनमा घोषित–अघोषित सबै गठबन्धनको सामना गरेको उनले बताए ।
पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंको वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा सभापति लामिछानेले आफूहरूको ध्यान आम जनतामा पुग्ने रहेको बताएका हुन् । नेकपा माओवादी, नेपा एस, जसपा र नेकपाले गठन गरेको समाजवादी मोर्चाको नामै उल्लेख नगरी त्यो गठबन्धनले आफूहरूलाई कुनै फरक नपार्ने लामिछानेले बताए ।
‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन्? हाम्रो लागि दलहरूको मोर्चा नयाँ होइन। हामीले देखेकै दलहरू हुन्’ लामिछानेले भने, ‘मोर्चा नै गर्ने हो भने नेपाली जनताको एजेण्डालाई लिएर गरौं भनेर संसदमा भनेको हुँ । हाम्रो पार्टीको ध्यान आम नागरिकको जनतामा पुग्ने हुन्छ । अन्य दलको गठबन्धनप्रति कुनै टिप्पणी गर्दिन ।’
सभापति लामिछानेले पार्टी स्थापनाको एक वर्षको समय अत्यन्त उर्जावान बनेको दाबी गरे । ‘समाजले परिवर्तन खोजेको विषय हामीलाई जानकारी थियो, मतपत्रबाट जाहेर हुन्छ कि हुँदैन भन्ने हेक्का थिएन ।
उपनिर्वाचनसम्म आइपुग्दा नयाँ पार्टी आयो भन्ने भयो । अबको चुनौतीः आम नागरिकसम्म पुग्नु पर्नेछ । अबको यात्रा संसद्मा अझबढी मर्यादित र प्रभावशालि हुन्छ ।’