संसदीय समितिका सभापति चयन नहुँदा कामकारबाही अघि बढाउन सकिएनः सभामुख
-आस्था न्यूज
असार ७, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको बताएका छन् ।
समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या भएको पनि उनको गुनासो छ।
‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरुले निर्णय दिनुपर्ने हुन्छ । यसो नभएका कारण समस्या भएको हो। सभापतिहरु चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन्’, बिहीबार सभामुख घिमिरेले आफूले राजनीतिक दलहरुलाई पटक पटक सभापति चयनका लागि आग्रह गरेको पनि स्मरण गरे।
गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रुपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिएको बताएका थिए। तर, असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेको भनी प्रश्न उठेको छ ।
आफूले दलहरुलाई सबै समितिको एकै पटक सम्भव नभए सम्भव हुने हदसम्म समितिको सभापति चयन गर्ने विकल्प समेत अगाडि सारेको सभामुख घिमिरेले सुनाए। सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले लिने अभ्यास भएकाले त्यसमा समिति सभापति चयन गर्न समस्या नहुने सभामुख घिमिरेको भनाइ छ।
यसका अलावा ठूला तीन दलको शीर्ष तहमा प्रमुख प्रतिपक्षी दलले कुन कुन समितिको सभापति लिने भन्ने विषयमा सहमति भइरहेको जानकारी पाएको भन्दै सभामुख घिमिरेले प्रमुख प्रतिपक्षीले पाउने भनिएको समितिका सभापति भएपनि चयन गर्न प्रस्ताव गरेको बताए ।