जनकपुरधाम उपमहानगरको २ अर्ब २८ करोड २३ लाखको बजेट सार्वजनिक
-आस्था न्यूज
असार ८, २०८० काठमाडौं ।
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट ल्याएको छ । उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पुँजीगततर्फ एसियाली विकास बैंक (एडीबी)सहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ र बाहृय स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने उल्लेख छ ।
बजेटअनुसार आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाको गाडी पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रसोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको थप निर्माणका लागि २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख बजेट विनियोजन गरेको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलगायतका विषयलाई प्राथमिकतामा राखिएको उपप्रमुख साहले बताए ।