तत्कालीन नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाई
-आस्था न्यूज
असार १०, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकन को लोकर्पण गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपा विभजन भयो भनेर मात्रै अब नबुझिने भन्दै उनले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यका लागि राम्रो हुने बताएका थिए ।
यस्तै पार्टी कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ जानकारी नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नेकपा विभाजनको कारण स्वचालित थियो वा परिचालित भन्नेबारे विश्लेषण जरुरी रहेको पनि अध्यक्ष ओलीले बताएका थिए ।
‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्ने अध्यक्ष ओलीको भनाई छ ।
यस क्रममा ओलीले विभाजनका कारण र उद्देश्यबारे विस्तृतमा व्याख्या गरिनुपर्ने बताएका थिए ।