Trending :
 

असार १३ गते कुनैपनि संशोधन बिना नै बजेट पास हुने अर्थमन्त्रीको भनाई

आषाढ ११,२०८०

-आस्था न्यूज

असार ११, २०८० काठमाडौं ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए ।
 
आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए ।
 
‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन महतले भने थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । अहिले आएको बजेटअनुसार स्रोत पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको महतले बताए ।
 
आवश्यकता अनुसार बजेट भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आइरहेको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने चाहना हो तर थोरै साधन स्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छुु उनले भने ।