Trending :
 

वर्षायाममा भाडापखाला र हैजाको संक्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षायाममा विभिन्न रोग फैलिनसक्ने भन्दै समयमै सचेत हुन आग्रह गरेको छ । दूषित पानी तथा खानाका कारण वर्षायाममा धेरै रोग फैलिने सम्भावना उच्च हुने भएकाले बेलैमा यसबारे सचेत हुन मन्त्रालयले अनुरोध गरेको छ । 
 
भाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्नेभन्दै मन्त्रालयले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरू अपनाउनु पर्नेमा जोड दिएको छ । 
 
पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खानुपर्छ । चर्पीमा मात्र दिशा पिसाब गर्नुपर्छ,” स्वास्थ्य मन्त्रालयले दैनिक बुलेटिनमार्फत भनेको छ, “बासी र सडेगलेका खानेकुरा खानु हुँदैन । जथाभावी फोहोर फाल्नु हुँदैन ।” 
 
दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुन पानीले मिचीमिची हात हुन पनि मन्त्रालयले आग्रह गरेको छ । 
 
सफा वातावरण र स्वस्थ जीवनशैली नै रोगरहित समाजका आधार भएकाले सरसफाइमा विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 
 
वर्षायाममा ढलको पाइप फुटेर खाने पानीमा मिसिन सक्ने र पानीको मुहानमा बाढीले फोहोर मिसाउन सक्ने भएकाले खाने पानी दूषित हुने उच्च सम्भाना हुन्छ । त्यसैले यसबाट सधैँ सचेत रहनु पर्नेमा मन्त्रालयको जोड छ ।