साउदीका लागि शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य

आषाढ १२,२०८०

-आस्था न्यूज

असार १२, २०८० काठमाडौं ।
नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।
 
अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो । 
 
दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।
 
तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।