Trending :
 

बकर इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आषाढ १४,२०८०

-आस्था न्यूज

असार १४, २०८० काठमाडौं ।
१४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् ।
 
राष्ट्रपति पौडेलले इद-उल-अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
 
सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको मुलुकमा इद-उल-अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
 
यस्तै, उपराष्ट्रपति यादवले पनि शुभकामना दिंदै यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु-अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
 
यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई सम्वर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।
 
पर्वको अवसरमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका प्रमुखलगायत उच्चपदस्त व्यक्तिहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।
 
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।
 
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद-उल-अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको नेपाल धर्म निरपेक्ष राज्य भएको उल्लेख गरे ।
 
बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।