मानविय स्वाभाव र प्रकृतिका तीन गुण
-आस्था न्यूज
हाम्रो आफ्नो घरपरिवार तथा वरपरको समाज र छरछिमेकमा रहेबसेका व्यक्तिहरुको विभिन्न प्रकृतिको गुण, स्वभाव,चरित्र र प्रवृति भएको हामीले देखे भोगेका छौ। कुनै व्यक्ति अति कर्मठ हुन्छन भने कुनै व्यक्ति अल्छी हुन्छन। कुनै व्यक्ति अति शाहसी हुन्छन भने कुनै केही आटै गर्न नसक्ने हुन्छन। कनै व्यक्ति अति महत्वकाँक्षी रहेका हुन्छन। कुनै व्यक्तिले सबैको हित कल्याण चाहने हुन्छन भने कुनै व्यक्ति आफ्नै घर परिवारका सदस्यको समेत ईर्श्या डाह गर्ने खालका हुन्छन। प्रत्येक व्यक्तिको ज्ञानको स्तर पनि फरकफरक रहेको पाईन्छ। त्यसैगरी प्रत्येक व्यक्तिले गर्ने कर्म अर्थात काम पनि फरकफरक छ।
प्रत्येक व्यक्तिको वुद्धिको र चेतनाको स्तर पनि विभिन्न खालको भएको पाईन्छ। प्रत्येक व्यक्तिले लिने संकल्प पनि एकै प्रकारको पाईदैन भने कुन कुरालाई सुख मान्ने भन्ने पनि एकै प्रकारको हुँदैन। कुनै एक व्यक्तिलाई सुख लाग्ने कुरा अर्को व्यक्तिलाई त्यही कुरा दुख लाग्न सक्छ। प्रत्येक व्यक्तिका आहारविहार र रुची पनि एकै नासको हुँदैन। कुनै व्यक्तिले आफ्नै परिवारका सदस्यलाई पनि सताईरहेको हुन्छ भने कुनै व्यक्तिले विश्वका मानिसको हित र कल्याणको कार्यमा लिन भईरहेका हुन्छन। कुनै व्यक्तिमा अति लोभ हुन्छ भने कुनैमा त्याग हुन्छ। एउटै आमाको कोखबाट जन्मेका जम्ल्याहा व्यक्तिको शोच, शैली, व्यवहार, मन, वचन, कर्म खानपिनमा रुचीका कुरा सबै फरकफरक हुन्छन र एकै खालको पाईदैन यस्तै यस्तै हुन्छ। यो सबै हुनुको पछाडि प्रकृतिका तीन गुण अर्थात सत्व, रजस र तमस गुणको प्रभाव हो।
ब्रह्माण्डको प्राकृतिक धर्म वा वृत्ति नै गुण हो।संसारका सवै भौतिक कार्यहरु प्रकृतिका तीन गुणहरुको अधीनमा रही सञ्चित हुन्छन।यो संसार तीन गुणले मोहग्रस्त छ। प्रकृतिको तीन गुणबाट सृष्टिको रचना भएको हो।प्रकृतिका तीन गुणमा सत्व, रजस र तमस पर्दछन। यी तीन घटक सजीव( निर्जिव,स्थुल (शुक्ष्म वस्तुमा विद्यमान रहन्छन। यी गुण विना कुनै पनि वास्तविक पदार्थको अस्तित्व संभव हुँदैन।कुनै पनि पदार्थमा यी तीन गुणको न्युनतम प्रभाव पर्दछ र सो प्रभावको कारण उसको चरित्र निर्धारण हुन्छ। सत्व, रजस र तमस गुण व्यक्तिको उर्जासंग सम्वन्धित छ।यस उर्जाले कुनै पनि व्यक्तिले के कस्तो र कसरी कार्य र व्यवहार गर्दछ भन्ने कुरा निर्धारण गर्दछ।यो उर्जा सकारात्मक,नकारात्मक र तटस्थ हुन सक्दछ।प्रकृतिको यो ३ गुण जुन हिन्दु दर्शनशास्त्रमा उल्लिखित छ।
जुन गुण प्रकृतिको बिभिन्न अंशमा व्याप्त छ र यसले प्राकृतिक दुनियाको विभिन्न पक्षमा प्रभावित गर्दछ। सत्व, रजस र तमस गुणले संसारमा व्यक्तिको भावनामा,मानसिक स्थितिमा तथा पकृतिका विभिन्न पक्षको वर्णन गर्न प्रयोगमा आउछ । यी तीन गुणको प्रभाव हाम्रो विचार,भावना,कर्म तथा जीवनप्रति हामीमा उत्पन्न हुने प्रतिक्रियामा हुन्छ।प्रकृतिका तीन गुण अन्तर्गत रहेर काम गर्ने मानिसका चार श्रेणी हुन्छन। जो शुद्ध सत्वगुणी हुन्छन ती ब्रह्मज्ञान प्राप्त व्यक्ति हुन्छन जसलाई ब्रह्माण भनिन्छ।जो शुद्ध रजोगुणी हुन्छन ति क्षत्रिय हुन्छन। जसमा रजोगुण र तमोगुण दुवैको मिश्रण हुन्छ ती वैश्य हुन्छन।जो पूर्णतया तमोगुणी छन ती शुद्र हुन्छन।जो यिनीहरुभन्दा पनि अझ तल छन ती पशु हुन्छन वा पशु जीवनमा रहेका हुन्छन भनिन्छ।ब्रह्माण, क्षेत्रिय, वैश्य,शुद्र जातले हुने होईन कर्म अर्थात ज्ञानको स्तरले हुने हो।
प्रकृतिका गुणका प्रकार
१. सत्व गुण
सत्वको अर्थ पवित्रता तथा ज्ञान हो।यो गुण चिर अस्तित्वको लागि आवाश्यक वा राम्रो काममा प्रवृत्त ल्याउने गुण हो।प्रकृतिका तीन गुण मध्येको उत्तम र सर्वश्रेष्ठ गुण हो । यो जीवनलाई मोडनेवाला गुण हो। सात्विक मनुष्य कुनै पनि कर्मफलको वा मान सम्मानको अपेक्षा विना अर्थात कुनै पनि स्वार्थ विना समाज सेवामा लागि रहन्छ। सत्वगुण दैवी तत्वको सबभन्दा निकट हुन्छ।सत्वगुणप्रधान व्यक्तिको लक्षण प्रशन्नता, सन्तुष्टि ,धैर्यता, क्षमा गर्ने क्षमता, अध्यात्म प्रति झुकाव राख्ने खालको हुन्छ। एक सात्विक व्यक्ति हमेशा विश्व कल्याणको निम्ति काम गर्छ र एक पवित्र जिवनयापन गर्दछ साथै सत्य वोल्छ र साहशी हुन्छ। जुन व्यक्तिमा सात्विक गुणको मात्रा बढी हुन्छ त्यस्तो व्यक्ति बढी दयालु, पवित्र,खुसी,आत्मज्ञानी, वुद्धिमानी, निश्पक्ष र सकारात्मक भावनाको हुन्छ।
सत्वगुण अन्य गुणभन्दा प्रधान र पुरुषार्थशील गुण हो। यो गुणले प्रकृतिको शुद्ध, शान्त, सत्य, ध्यान, सन्तुलन, प्रेम, दया ,स्वस्थ्य मनस्थिति, सत्यपरायणतालाई अङगिकार गर्दछ। जब सत्वगुण प्रमाणिक हुन्छ तब मन, वुद्धि र शरीर शुद्ध हुन्छ साथै आध्यात्मिक उन्नति बढी हुन्छ। सत्व गुण निर्मल, निर्विकार र प्रकासपूर्ण हुन्छ। सत्व गुणको लक्ष्य चेतना अर्थात होस हो। जब व्यक्ति होसमा हुन्छ तब सत्वगुण बढेको थाहा हुन्छ। जागरुकताको मात्र जति बढछ त्यति नै सत्वगुण भएको मानिन्छ र त्यतिनै व्यक्ति सात्विक भएको पाईन्छ। सत्वगुणले भरिएको व्यक्ति मर्ने समयमा शान्त भई जागरुकतामा मर्छ, होशपूर्वक मर्छ र परमआनन्दको अबस्थामा प्रवेश गर्छ। सत्वगुणी व्यक्तिको ज्ञान, कर्म, वुद्धि, शंकल्प सबै सात्विक नै हुन्छ। कुनैपनि फलको ईचच्छा नराखी राग द्धेष र आशक्तिरहित भएर नियमित रुपले गरिने कर्म सत्वगुणी कर्म हो। जुन बुद्धिद्धारा मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन, के संग डराउनु पर्छ र के संग डराउनु हुँदैन, के कुराले बन्धनमा पार्छ र कुन कुराले मुक्ति दिलाउछ भनी जान्ने वुद्धि नै सत्वगुणी व्यक्तिको हुन्छ। जो शुरुमा विष जस्तो लागे तापनि अन्तमा अमृत समान हुन्छ अर्थात आत्मासाक्षतकारका लागि जगाउछ त्यस्तो सुख नै सत्वगुणीको सुख हो। जुन भोजनले आयु बढाउछ, जीवनलाई शुद्ध पार्छ अर्थात बल,स्वस्थ्य, सुख तथा तृप्ति प्रदान गर्छ त्यस्तो भोजन सतोगुणी व्यक्तिलाई मन पर्छ।
२. रजोगुण
रजसको अर्थ क्रिया तथा ईच्छा हो। राजसिक मनुस्य स्वयमंको लाभ तथा कार्यशिद्धिको हेतुले जिउछ। अधिकाँश व्यक्ति रजोगुणी जीवन जिउछन। तमस भन्दा माथिल्लो अवस्थाको जिवन रजस जिवन छ । प्रकृतिका तीन गुण मध्ये मध्यम गुण रजसको हुन्छ। राजसिक जिवनमा सुखदुखको संघर्ष अनवरत जारी रहन्छ। रागरुपी रजोगुण कामना र आशक्तिबाट उत्पन्न भएको हो। फलको आशक्ति नै रजोगुणको स्वभाव हो। रजोगुणको प्रवृति हुने मनुस्यको भोग प्रति आशक्ति बढछ र अधिक भोग प्राप्त गर्न चाहन्छ। रजस गुणलाई गतिशीलता,आवेश, उत्साहता, आक्रामकता, क्रोध, आहार र निद्राले प्रभावित गर्छ। यस गुणमा कार्य क्षमता, उत्पादन शक्ति, उत्साह, प्रतियोगीता वा महत्वकाँक्षा, लोभ, कामना, संग्रहको गुण बढी हुन्छ।
अति भौतिकवादी, असीम आकांक्षा र तृष्णाद्धारा रजो जन्म हुन्छ अर्थात रजोगुण वृद्धि हुन्छ। अत्यन्त आशक्ति सकाम कर्म, तीव्र प्रयत्न, अनियन्त्रित चाहना, लालशावृद्धिको लक्षण रजोगुणमा देखिन्छ। यस्तो गुण भएको व्यक्तिले हरेक भिन्न शरीरमा भिन्दाभिन्दै जिवात्मा देख्दछ। भौतिक विषयसम्बन्धी तर्कवितर्क र मनोधर्मी चिन्तनद्धारा वाद, शिद्धान्त यस गुण भएको व्यक्तिको ज्ञानले जन्माउछ। आफ्नै ईच्छापूर्तिका लागि अहंकारको भाव राखेर कठीन परिश्रमपूर्वक गरिने कर्म रजोगुणी कर्म हो।कर्मफलप्रति आशक्ति हुदै फल भोग्न चाहने लोभी, ईर्शालु, अपवित्र र सुखदुखमा विचलित हुने स्वभाव रजोगुणीको हुन्छ। धर्म अधर्म छुट्याउन नसक्ने तथा गर्नु पर्ने कार्य र गर्न नहुने कार्य छुट्याउन नसक्ने वुद्धि रजोगुणी वुद्धि हो। रजो गुणीको संकल्प धर्म, अर्थ र कामको प्रतिफलमा लिप्त हुने हुन्छ। विषयसंग ईन्द्रीयको संपर्क हुँदा ईन्द्रीयहरुबाट जुन सुख प्राप्त हुन्छ र त्यो सुख शुरुमा अमृत जस्तो हुन्छ र अन्तमा विषजस्तै दुखदायी हुन्छ त्यसैलाई नै सुख रजोगुणी व्यक्तिले मानेको हुन्छ। अत्यधिक पिरो, अमिलो, तातो,नुनिलो,सुख्खा तथा जलन उत्पन्न गराउने भोजन रजोगुणी व्यक्तिलाई मन पर्छ।
३. तमोगुण
तमोगुणको उत्पति अज्ञानबाट हुन्छ। तमसको अर्थ अज्ञानता तथा निश्कृयता हो। तामसिक मनुस्यले दोस्रोको अर्थात समाजलाई हानी पुर्याएर आफ्नो स्वयमको स्वार्थशिद्ध गर्छ। तमसप्रधान व्यक्ति आलसी, लोभी र सांशारिक ईच्छामा आशक्ति रहन्छ। तमसगुण प्रधान व्यक्तिलाई सत्य के हो, असत्य के हो केही पत्ता हुँदैन। उ अज्ञानले गर्दा अन्धकारमा रहन्छ। असल केहो र खराव केहो भन्ने कुरा जान्ने जिज्ञासा पनि तमो गुणीमा हुँदैन। तमस गुण प्रकृतिको तामसिक गुण भएको हुँदा यस गुणवाला व्यक्ति अज्ञान, अन्धकार, अनचेतनता, निद्रा, आलस्यता,मोह, र निर्वुद्धिले प्रभावित हुन्छ। तमस गुणको प्रभावमा हुने मानिस आलस्य, उदासिनता र जडताको स्थितिमा रहन्छ। तमस गुणले व्यक्तिमा ज्ञान र ध्यानको अभावले गर्दा आध्यात्मिक विकासमा वाधा पुर्याउदछ। यस गुणले तामसिक आहार,बढी मनोरञ्जन,अशिक्षा,आध्यात्मिक अनादेखा र अधिक निद्रालाई बढाउछ।तमस गुणले आलस्यता र अकर्मण्ड्यता निम्ताउछ साथै ज्ञानलाई ढाक्छ र वहुलठ्ठीपन प्रति आकर्षण बढाउदछ।
यसगुणबाट वुद्धिहिनता, अन्धकार, जडता, उन्मत्तता र मोह पैदा हुन्छ। यस गुणवाला व्यक्ति सत्यको जानकारी विना अति तुच्छ कार्यलाई नै सब कुरा मानेर त्यसैमा आशक्त हुन्छ र सांशारिक सुखसुविधामा मात्र रमाउने ज्ञान तमोगुणीले मान्दछ।हिंसाजन्य कार्य र अर्कालाई दुख दिन मोहवस गरिने कार्य तमो गुणीको कर्म हो। सबै शास्त्रीय नियमविरुद्ध काम गर्न तत्पर, भौतिकवादी ,एकोहोरो जिद्धि, ठग र अर्काको अपमान गर्न सिपालु,सधै खिन्न भईरहने, सुस्ति र अल्छी तमोगुणी कर्ताको हुन्छ। ज्ञानको अन्धकार र भ्रममा परेर धर्मलाई अधर्म र अधर्मलाई धर्म मान्ने तथा सधै गलत दिशातिर जाने प्रयत्न गर्ने वुद्धि तमोगुणीको हुन्छ। तमोगुणी व्यक्तिको वुद्धिले सामान्य मानिसलाई महात्मा मान्छ र महात्मालाई सामान्य ठान्छ। स्वप्न, डर, शोक, विवाद र मोहभन्दा माथि उठन नसक्ने, वुद्धिहिन संकल्प यस गुण भएको व्यक्तिले लिन्छ। जुन सुख आत्मसाक्षात्कारप्रति अन्धो छ अर्थात शुरुदेखि अन्तसम्म मोहकारक छ साथै निद्रा आलश्य र मोहबाट पैदा हुने सुखलाई तमोगुणीले सुख मानेको हुन्छ। तमोगुणी व्यक्तिको ज्ञान, कर्म, वुद्धि, संकल्प र सुख सबै तामसी नै हुन्छ। तमोगुणले जिवात्मालाई प्रमाद अर्थात बेहोसी, आलस्य र निद्राबाट बाँध्छ। स्वाद हराएको, बासी खालको, सडेगलेको, अस्पृश्य खानेकुरा तमोगुणी व्यक्तिलाई प्रीय लाग्दछ ।
प्रकृतिका गुणको विश्लेषण
गीतामा लेखिए अनुसार कृष्ण भगवानले अर्जुनलाई भन्नुभएको छ हे अर्जुन रजोगुण र तमो गुणलाई दवाउदा सत्वगुण हुन्छ अर्थात बढछ र रजोगुण र सत्व गुणलाई दवाउदा तमोगुण बढछ त्यसरी नै तमोगुण र सत्वगुणलाई दवाउदा रजोगुण बढछ।यसैले जुन कालमा यस देहमा तथा अन्तकरण र ईन्द्रीयमा चेतना र बोध शक्ति उत्पन्न हुन्छ त्यस कालमा सत्वगुण बढेकोछ भन्ने बुझ्नुपर्छ। अनि रजोगुण बढेपछि लोभ, प्रवृत्त अर्थात सांशारिक चेष्टा र सब प्रकारका कर्महरुको स्वर्थसिद्धिबाट आरम्भ हुन्छ र अशान्ति, मनको चन्चलता, विषयभोगहरुको लालसा उत्पन्न हुन्छ”।
प्रकृतिबाट उत्पन्न भएका तीनवटा गुणले जिवात्मालाई शरीरमा बाँध्छन र जिवात्माका लागि बन्धन निर्मित गर्छन। यी तीन गुण नहुने हो भने जिवात्मा शरीरमा हुन सक्दैन। तम चाहिन्छ जसले रोकिने शक्ति दिन्छ। रज चाहिन्छ जसले गति र जिवन दिन्छ।सत्व चाहिन्छ जसले सन्तुलन र आनन्द सुख दिन्छ।यी तिन गुण मध्ये एउटा गुण मात्र कम भएमा जिवात्मा रहन सक्दैन।तमोगुण अज्ञान हो भने रजोगुण आशक्ति हो।
सत्गुरु ओशोले भन्नुहुन्छ सत्वगुणको लक्षण चेतनता हो। जब मानिस होसमा हुन्छ तब सत्वगुण बढेको मान्नु पर्छ। सत्व गुण चाहिन्छ भने जति हामी होसमा हुन सक्छौ उति राम्रो हुन्छ । जे सुकै गर्नुस, क्षुद्र भन्दा क्षुद्र र ठूलो भन्दा ठूलो काम सजगतापूर्वक गर्नुस, व्युझिएर गर्नुस, काम गर्दा जागेर गर्नुस, जागरुकताको मात्रा जति बढछ त्यतिनै हामी भित्र सत्वगुण बढी हुनेछ, त्यति नै तपाई हामी साधु हुने छौ, त्यति नै तपाई हामी सात्विक हुन्छौ। रजोगुण र तमोगुणलाई दावेपछि सत्वगुण पैदा हुन्छ।यि तिनवटै गुण हामी सबैभित्र छन, वाहिरबाट ल्याउनु पर्दैन। तिनवटै गुणमा जुन उर्जा हुन्छ त्यो एकै छ।तपाई आफूभित्र दुईलाई दावेपछि तेस्रो मुक्त हुन्छ।जसलाई मुक्त गर्नु छ त्यसलाई छाडेर बाँकी दुईलाई दाव्न शुरु गर्नुपर्छ ।
रजोगुण बढदा लोभ र सांशारिक चेष्टा, अशान्ति मनको चंचलता, विषयभोगहरुको लालसा यी सब उत्पन्न हुन्छन। यदी रजोगुणबाट पार पाउनुछ भने यी सबबाट छुटनु जरुरी छ। छुट्नका लागि तपाई तिनलाई सहयोग नगर्नुस जब लोभ उठछ तब तपाँई त्यसलाई हेरिरहनुस अर्थात जे उठछ त्यसलाई हेरिरहनुस त्यसलाई साथ नदिनुस।
यसर्थ तमोगुण बढेमा अन्तकरण र ईन्द्रीयहरुमा अध्यारोपनको बोध हुन्छ र कर्तब्य कर्ममा प्रवृत्त हुँदैन। हरेक काममा व्यक्ति ब्युझेको हुँदैन र आलस्यले मन पक्रिरहेको हुन्छ। मोहनिवृत्तीहरु उत्पन्न भई मादक पदार्थ, नाच, संगीत, कामवाशनामा ज्यादा मन जान्छ। सात्विक कर्मको फल वैराग्य हो भने राजस कर्मको फल दुख हुन्छ, तासम कर्मको फल अज्ञान हो।तमस गुणको प्रभावबाट बच्न सत्व र रजस गुणको विकास गर्ने प्रयास गर्नुपर्छ। योग, ध्यान, सत्सङ्ग, मेधावी आहारविहार र आध्यात्मिक साधनाको अभ्यासले तमसगुणबाट पर उठन मद्यत गर्छ।
ओशोले भन्नुहुन्छ भगवान श्रीकृष्णले तीन गुण जुन सत्व रजस र तमस वारेमा अर्जुनलाई भन्नु भएको छ त्यो बडो वैज्ञानिक छ। त्यहीकुरालाई पश्चिममा वैज्ञानिकहरुले भनेका छन की परमाणु तीन हिस्सामा टुटछ। पदार्थको अन्तिम परमाणु जो तिन हिस्सा जुन ईलेक्ट्रोन,न्युट्रोन र प्रोट्रोनमा टुटन जान्छ। वैज्ञानिक भन्छन यी तीन तत्व विना परमाणु बन्न सक्दैन। यी तीन तत्वको जुन गुण धर्म हो त्यही गुण धर्म सत,रज र तममा छ। जुन काम ईलेक्ट्रोन, न्युट्रोन र प्रोट्रोनले गर्छ त्यही काम सत्वगुण, रजोगुण र तमोगुणले गर्छ। तमस जुन ईनरसिया हो त्यो अबरोधको तत्व हो अर्थात स्थिरताको तत्व हो। तमस नहुदो हो त जगतमा कुनै चिज स्थिर रहन सक्ने थिएन। जगतमा कुनै तमस नभएको भए वा ग्रेविटेशन अर्थात गुरुत्वकर्षण नभएको भए वा रोक्नेवाला शक्ति अर्थात अबरोधक शक्ति नभएको भए हामीले फालेको ढुङ्गा वा कुनै पनि चिज रीकिने थिएन। अवरोधक शक्ति नहुने हो भने गति पनि संभव हुने थिएन । ईनरशिया जुन हो त्यो अर्थात तमस जुन हो त्यो रोक्नेवाला शक्ति हो। रजस जो हो त्यो गति अर्थात मुभमेन्टको शक्ति हो। तमसले रोक्छ भने रजसले गति दिन्छ त्यो शक्ति अर्थात ईनर्जी हो।
सत्व तेस्रो कोण हो। सत्व दुई गुण भन्दा माथि हुन्छ। जसरी हामीले त्रिभूज बनाउछौ भने दुईवटा कोण तल हुन्छन भने एउटा कोण माथि हुन्छ। सत्वगुणले रजस र तमस गुणलाई सन्तुलनमा राख्छ।यसर्थ यी तिन तत्वलाई पूर्वीय दर्शनमा सत्व, रजस र तमस नाम दिईयो भने पश्चिममा ईलेक्ट्रोन, प्रोटोन र न्युट्रोन नाम दिईयो।जसले काव्यात्मक ढंगले सोँच्छ त्यसले यी तीन गुणलाई ब्रह्मा, विष्णु र महेश भने।जे नाम दिईए तापनि कुनै अन्तर छैन काम उही हो। ब्रह्मा सर्जक शक्ति हुन भने विष्णु संभालनेवाला अर्थात सस्टेनिङ शक्ति हुन ।
शिव विनाश गर्नेवाला शक्ति हुन।जुन ईलेक्ट्रोन, न्युट्रोन र प्रोट्रोन हो यी तत्वले तीन काम गर्छन।ईलेक्ट्रोन नेगेटिभ शक्ति हो अर्थात शिव जस्तै हो जसले तोडछ, नस्ट गर्छ। जुन तत्व प्रोट्रान हो त्यो ब्रह्म जस्तै हो, त्यो पोजेटिभ शक्ति हो जसले निर्माण गर्छ।जुन न्युट्रोन हो त्यो न पोजेटीभ हो न नेगेटिभ हो त्यो सस्टेनिङ शक्ति हो जसले बिचमा रहेर सन्तुलन कायम गर्छ। कृष्ण भगवान भन्नुहुन्छ मनुष्यको भित्र तथा वाहिर जो घटित हुन्छ त्यहाँ यी तीन शक्तिको खेल हुन्छ। यी तीन शक्ति अनुसार सबै घटित हुन्छ। मानिस धकेलिएको छ,रोकिएको छ, जन्मिएको छ, रुनको लागि उपलब्ध छ, मर्नको लागि उपलब्ध छ यो सबै सार तीन शक्तिको काम हो। यो तीन शक्तिले आआफ्नो काम गरेको हुन्छ यो परमात्माको तीन रुप जसले जीवनको सृजन दिईरहेको हुन्छ ”।
त्यसैगरी ओशो भन्नुहुन्छ मानिस भित्र क्रोध छ त्यो अनिवार्य तत्व हो यो क्रोध हामी भित्रको नेगेटिभ शक्ति हो, प्रेम हामी भित्र छ त्यो निर्माणको शक्ति हो। विवेक हामीभित्र छ त्यो क्रोध र प्रेमलाई सन्तुलन गर्ने शक्ति हो। जुन व्यक्तिले विवेक छोडेर सारा शक्ति क्रोधमा लगाउछ त्यो नर्कतर्फ चलेको हुन्छ अर्थात नर्कमा जान्छ जसले सारा शक्ति प्रेममा लगाउछ त्यो शक्ति स्वर्गको यात्रातर्फ लागेको हुन्छ र उसको जिवनमा सुख उत्रन लाग्छ। जसले सन्तुलन कायम गर्छ अर्थात सुख र दुखबाट अलग हुन्छ त्यो व्यक्ति मुक्ति अर्थात मोक्षको दिशामा गएको हुन्छ। यसर्थ हाम्रो पासमा तीन शब्द छन जुन स्वर्ग, नर्क र मोक्ष हुन।
स्वर्गमा त्यो पुग्छ जो आफूभित्रको सकारात्मक वा पोजेटिभ वा विधायक शक्ति अनुकूल चल्छ।नर्कमा त्यो जान्छ जुन व्यक्ति आफूभित्रको विनासक शक्ति अनुकूल चल्छ। मोक्षमा त्यो पुग्छ जसले दुईको अनुकूल नचली दुवैलाई सन्तुलित गर्दै यी दुईको पार जान्छ सत्व, रजस र तमस शक्ति विना जिवन हुन सक्दैन। यी तीन गुणलाई जसले सन्तुलन गर्छ त्यो व्यक्ति धार्मिक हुन्छ र उसलाई धर्म उपलब्ध हुन्छ। जसले सन्तुलन गर्दैन त्यो व्यक्ति टुटछ गिर्छ।त्रिगुण अनिवार्य तत्व हो यी तीन गुण विना सृष्टि रहदैन।जब तमस बढछ तब रजस तर्फ झुक्नु पर्छ। जब रजस बढछ तब तमस तर्फ झुक्नु पर्छ। जब दुई गुणको सन्तुलन हुन्छ तव तेस्रो तत्व उपलब्ध हुन्छ।जब तीन गुणको अभ्यास हुन्छ तब त्यसभन्दा पर पुगिन्छ।रजस र तमसको सन्तुलन गर्न सजिलो छ जब यी दुईको अभ्यास भयो भने सत्वतर्फ यात्रा बढछ।जसले रजस र तमस बिच सन्तुलन कायम गर्छ त्यो साधु हुन्छ। जसले तीन गुणको सन्तुलन गर्छ त्यो सन्त हुन्छ।यी तीन शक्तिको बिचमा खाली छ शून्य छ त्यहाँबाट व्यक्ति ब्रह्म अर्थात परमात्मामा प्रवेश गर्छ।
यसर्थ हामीहरु प्रकृतिका यी तीन गुणबाट बाँधिएका छौ।हामी भित्र यी तीन गुण निहित रहेका छन र यी तीन गुण मध्ये कुन गुणलाई महत्व दिने भन्ने कुरा हामीमा निर्भर रहन्छ। आफूमा कुन गुण हावी रहेको छ भन्ने कुरा थाहा पाएर कुनै पनि एउटा गुणलाई हावी हुन नदिई तीनवटै गुणलाई सन्तुलनमा राख्न सक्यौ भने जीवनमा आनन्द उपलब्ध हुन्छ यसको लागि साधनाको जरुरत पर्दछ ।
स्रोतसामाग्रीः (ओशो कर्म योग भगवत गीताका मनोविज्ञान भाग ३ फ्युजन बुक्स। गीता दर्शन श्रीमदभगवत गीतामाथि ओशोले दिनुभएको प्रवचनहरुमध्येबाट संक्षिप्तिकृत संकलन, मधुवन प्रकाशन। श्रीमद् भगवतगीता यथारुप, कृष्णकृपामूर्ति, श्रीमद् ए सी भक्तिवेदान्त स्वामी प्रभूपाद, अन्तराष्ट्रिय कृष्णभानामृत संघ)