Trending :
 

पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३३ अर्बको क्षति

आषाढ १७,२०८०

-आस्था न्यूज

असार १७, २०८० काठमाडौं । 
पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी भएको एक तथ्यांकले देखाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो ।
 
‘नेपालमा ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ,’ परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहीले भने, ‘संक्रमित पशु र मरेको पशुको हिसाब गर्दा ३३ अर्ब ५१ करोड ४० लाख नोक्सानी भएको देखिन्छ ।’ ०७९ चैतमा कोशीमा सुरु भएको प्रकोप मनाङबाहेक ७६ जिल्लामा फैलिएको पशुसेवा व्भिागको तथ्यांक छ । ती जिल्लाका ६ लाख ८२ हजार ८० पशुमा फैलिएको रोगबाट २५ हजार ४ सय ८ पशु मरेका छन् । ४ लाख ९ हजार १ सय ७५ पशु निको भएका पनि छन् । २ लाख ४७ हजार ४ सय ९७ पशु सक्रिय संक्रमित छन् । करिब ४ लाख पशु निको भए पनि तिनको उत्पादकत्व घटेको परिषद्ले जनाएको छ । संक्रमित पशुबाट ४८ दिनसम्म उत्पादन आउँदैन । गाई तुहिने सम्भावना हुन्छ, बाली लगाउन पाइन्न । राँगारगोरुमा पनि बाँझोपनको सम्भावना रहन्छ ।
 
विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० र मृत्युदर १ देखि ५ प्रतिशत पुग्छ । तर भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको छ । भारतमा २४.२, बंगलादेशमा ३४ र इथियोपियामा ३६ प्रतिशतसम्म रोग फैलिएको परिषद्ले बताएको छ । ‘रोगले भारतमा १२.४, बंगलादेशमा ३.२ र इथियोपियामा ४।५ प्रतिशत मृत्युदर देखिएको छ । एकै खोरमा रहेका ८२।३ प्रतिशत पशुमा रोग फैलिने र त्यसमा २४.३ प्रतिशत मर्ने गरेको अध्ययनले देखाउँछ,’ परिषद्का प्रवक्तासमेत रहेका शाहीले भने, ‘भारतमा एउटा गाई बिरामी हुँदा ९४ हजार ८ सय ३९ र भैंसीबाट ४३ हजार ३ सय २९ रुपैयाँको आर्थिक क्षति भएको छ । बंगलादेशमा प्रतिगाईभैंसी १२ हजार ३ सय २३ र इथियोपियामा ४२ हजार ९ सय रुपैयाँ आर्थिक क्षति हुने गरेको छ । सोही आधारमा नेपालमा न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने अनुमान गरिएको हो ।’आजको कान्तिपुरमा खबर छ ।