खोटाङमा दूध र मासुमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण
-आस्था न्यूज
असार १७, २०८० काठमाडौं ।
हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।
किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो ।
संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैसी किन्न किसानलाई नै रु एक/एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।