Trending :
 

विदेशबाट तरकारी र फलफूल आयात कम गरिने अर्थमन्त्री महतको भनाई

आषाढ १७,२०८०

-आस्था न्यूज

असार १७, २०८० काठमाडौं ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताउनुभएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गर्नुभयो । उहाँले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गर्नुभयो ।
 
मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पार्नुभयो । विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उहाँले जानकारी गराउनुभयो ।
 
विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा महतले बताउनुभयो ।