नेपाल आयल निगमद्धारा आईओसीको २० अर्बभन्दा बढी ऋण चुक्ता
-आस्था न्यूज
असार १७, २०८० काठमाडौं ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)को सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । उपभोक्तालाई मूल्यमा भार पारेर निगमले अन्ततः आईओसीको सबै बक्यौता चुक्ता गरेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले ब्याजवापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व रहेको र सो रकम पनि केही समयपछि भुक्तानी हुने बताए ।
निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए ।
यसैबीच नेपाल आयल निगम हाल पाक्षिक (१५ दिनमा) १ अर्ब ६० करोड नाफामा गएको छ । खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो ।
निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । त्यस्तै मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा आन्तरिकतर्फ ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ । निगमलाई यसअघि ग्यासमा रहेको नोक्सानी समेत हटेको छ ।