दलितमाथि विभेद् गर्नेलाई कारबाही गर्न सांसदहरुद्धारा सरकारलाई ध्यानाकर्षण
-आस्था न्यूज
असार १८, २०८० काठमाडौं ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद् गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन्।
सोमबार राष्ट्रियसभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद् बढ्दै गएको भन्दै सांसदहरूले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरेका राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दलितमाथि विभेद् गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएकी हुन्।
त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको विभेद्का विषयमा पटक(पटक कुरा राख्दा पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै आपत्ति जनाए।
उनले दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातीय विवाह गर्दा मुद्दा चलाएको लगायतका घटनाले दलितमाथि अपमान भएको भन्दै उक्त घटनामा पनि दोषीलाई कारबाही हुन नसकेको गुनासो गरे।
उनले दोषीलाई कारबाही नगर्ने र कानुनलाई पालना नगराउने प्रहरी र सिडिओलाई नै कारबाही गर्नुपर्ने माग गरे। यस विषयमा सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङसमेत गरिन्।