Trending :
 

गिरिजा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने नेता कोइरालाको भनाई

आषाढ १८,२०८०

-आस्था न्यूज

असार १८, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् ।
 
स्व। गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमता भएका नेता रहेको स्मरण गरे ।
 
कांग्रेसका पूर्वमहामन्त्री डा. कोइरालाले भने, “गिरिजाबाबुकोजस्तो निर्णय क्षमता सबैमा हुँदैन, उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो ।”
 
उनका अनुसार दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो । रक्तदान जस्तो सामाजिक काममा सबै लाग्नुपर्ने डा. कोइरालाको भनाइ थियो ।
 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम र उर्मिला थपलिया, कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्कालगायतले रक्तदान सामाजिक काम भएकाले कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने बताए ।