बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ
-आस्था न्यूज
असार १८, २०८० काठमाडौं ।
बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल शुरु भएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाउनुभएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गर्नुभयो । बजेट सफलापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षले उठाएका मागलाई सम्बोधन गर्ने बताउनुभयो ।
मन्त्री लामाले बजेट प्रस्तुतका क्रममा देखिएका केही कमीकमजोरी र अव्यावहारिक पक्षलाई आत्मसमीक्षा गरेर आगाडि बढ्ने जानकारी गराउनुभयो । उहाँले प्रतिपक्ष दलहरूले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र केही समयभित्रै ती मागलाई बजेटको किताबमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री लामाले बजेटले कृषि उत्पादन, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मकरूपमा प्रदेशको हरेक अस्पताललाई स्तरोन्नति गरी अगाडि बढाउन प्रयास गर्ने उल्लेख गर्नुभयो ।
मन्त्री लामाले आजै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०, प्रतिपक्ष दल राप्रपा र नेमकिपासँग मुख्यमन्त्री र आफू बसेर बजेटको विभेद् हटाएर थप योजनाहरू समावेश गरी क्रमिकरूपमा प्रदेशमा कार्यान्वयन गर्दै लैजाने सहमतिका साथ संसद् अवरोध टुङ्गिएको बताउनुभयो ।