Trending :
 

मलेसियालाई हराउदै नेपालले जित्यो इस्ट जोन कप क्रिकेटको उपाधि

आषाढ १९,२०८०

-आस्था न्यूज

असार १९, २०८० काठमाडौं ।
नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले पहिलो पटक यस नामले आयोजित प्रतियोगिता जितेको हो ।
नेपालले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो । त्यसहिसाबमा मलेसियामा यसपटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू-१६ क्रिकेटमा ह्याट्रिक गरेको हो ।
 
२ सय ५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए । मलेसियाबाट मोहम्मद अक्रम ९१०० ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
 
यसअघि नरेन भट्टले सानदार शतक बनाएपछि नेपालल फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो ।
 
प्रतियोगितामा नेपालले समूहचरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।