पश्चिमाहरुसँगको चुनौती सामाना गर्न भन्दै चीनद्धारा नयाँ विदेश नीति पारित
-आस्था न्यूज
असार १९, २०८० काठमाडौं ।
चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो ।
चीनका उच्च तहका कुटनीतिज्ञ वाङ यीले नयाँ विदेश नीतिबारे भनेका छन्, ‘यो विदेश नीति पार्टीको नेतृत्व र समितिलाई विदेश मामिलामा सुदृढ बनाउने महत्वपूर्ण दस्तावेज हो ।’
चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।
नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त छ । दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् । पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।
चिनियाँ नीतिका जानकारहरूका अनुसार यो नीतिमार्फत चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ । यो नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ भने चीनले यही नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको विज्ञहरूको मत छ ।