काठमाडौँको टोखा नगरले छुट्यायो खेलकुदतर्फ एक करोड बजेट
-आस्था न्यूज
असार २०, २०८० काठमाडौं ।
काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो ।
टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि रु ५० लाख विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो ।
नगरभित्रका दीर्घरोगीलाई निःशुल्करूपमा औषधि वितरण गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । नेपाल प्रहरी एवं नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ‘मेयर उज्यालो कार्यक्रम’ तथा ‘जनता सुरक्षा कार्यक्रम’अन्तर्गत सडकबत्ती तथा सिसी क्यामेरा जडानका लागि रु दुई करोड विनियोजन गरिएको नगर उपप्रमुख तामाङले बताउनुभयो ।
सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको रकममा रु पाँच थप गर्नुका साथै कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकालाई रु २० का दरले हुने गरी मेयर दिवाखाजा कार्यक्रमका लागि रु ७८ लाख विनियोजन गरिएको छ ।