बालुवाटारको सरकारी जग्गामा व्यक्तिका महलदेखि विशाल गोदामसम्म सञ्चालन

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
ललितानिवासको एक सय ४३ रोपनी जग्गा हिनामिनामा संलग्न केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ, केही फरार छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त साढे तीन वर्षअघि नै अभियुक्तविरुद्ध मुद्दा दायर गर्दै जग्गा जफत गर्न भनेको थियो । तर, सरकारले चार वर्षअघि नै रोक्का राख्ने निर्णय गरेको सो जग्गामा व्यक्तिका महलदेखि अभियुक्तका विशाल गोदामसम्म छन् । अहिले पनि भोगचलन उनीहरूले नै गरिरहेका छन् ।
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले मात्रै ललितानिवासको २९ रोपनी जग्गा हडपेका थिए । जसमध्ये १४ रोपनी १० आना एक पैसा दुई दाम जग्गामा उनले भाटभटेनी सुपरमार्केटको विशेष गोदाम बनाएका छन् । गोदामको पक्की संरचना मात्रै आठ रोपनी एक आना एक पैसा दुई दाममा फैलिएको छ ।
 
जुन उनी अहिले पनि निर्वाध रूपमा प्रयोग गर्दै छन् । सिआइबीका अनुसार गुरुङले हडपेकोमध्ये ९, १०, ७९, ८०, ८१, ८२, १२, ५७, ५६, ५५, ३७९, ३१७, ३१४, २८४, २१५, ६१, २८२, २८५, ५९, २८६, ५८, १४, २१, ३७७, २७६, २१८, १०२, १००, ३७५, ३०७, २७३, १०१ र २७४ नम्बर कित्तामा विशाल गोदाम बनाएका छन् । उनलाई सिआइबीले एक साताअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
 
ललितानिवासको हडपिएको जग्गा हलसम्मको अवधिमा विवादित छ । सोही विवाद मुद्दाका रूपमा अदालतमा विचाराधीन छ । दुवै झगडियाले जग्गामा आ–आफ्नो दाबी गरिरहेका छन् । यसको किनारा लागिसकेको छैन । अदालतको फैसला नआउँदासम्म यस्तो जग्गा रोक्का हुन सक्छ, तर यसले भोगचलनमा बाधा पुर्‍याउँदैन । अदालतले उक्त जग्गा सरकारकै रहेको र त्यसमा बनेको संरचना हटाउने फैसला गर्‍यो भने त्यो जसरी पनि हटाउनुपर्ने हुन्छ । त्यसपछि झगडियाले भोगचलन गर्न पाउँदैन । 
 
गुरुङले उक्त जग्गा २५ चैत ०६० मा शैलजा राणा, सुनीति राणासँग र ८ वैशाख ०६१ मा रुक्मशमशेर जबरासँग लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा उक्त जग्गा जफत गरिनुपर्ने भनिएको छ । घटनामा संलग्न भएको भन्दै अख्तियारले उनीविरुद्ध भाटभटेनी डेभलपमेन्ट कम्पनीको तर्फबाट ११ करोड २० लाख रुपैयाँ र व्यक्तितर्फबाट २९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।