१३ वर्षपछि नेपालको सम्पत्ति शुद्धीकरणमा मूल्यांकन हुँदै, नकारात्मक सूचीमा पर्ने जोखिम

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूची (ग्रे लिस्ट) मा पर्ने जोखिम देखिएको छ ।
 
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई नकारात्मक सूचीमा राख्न गत माघमै प्रतिवेदन दिएको थियो ।
 
त्यसयता उक्त जोखिमबाट बच्न नेपालले प्रारम्भिक काम ऐन कानुन निर्माण र ती कार्यान्वयन गर्ने निकाय स्थापना गर्न नसकेकाले अब ‘ग्रे लिस्ट’ मा पर्ने निश्चितजस्तै भएको स्रोतले बताएको छ । 
 
खासगरी वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानुन नबन्दा र बनेका कानुन प्रभावकारी कार्यान्वयन नहुँदा नेपाल ‘ग्रे लिस्ट’ (नकारात्मक सूची) मा पर्ने निश्चितजस्तै भएको हो ।
 
यही असार अन्तिम साता (जुलाई ९ देखि १४ तारिख) क्यानडामा एफएटीएफको वार्षिक साधारणसभा हुँदै छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा करिब ३० जनाको नेपाली टोली क्यानडा जान लागेको छ ।
 
साधारणसभामा नेपाल जस्ता राष्ट्रबारे छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ । त्यस सत्रको निष्कर्षका आधारमा कुनै पनि राष्ट्रलाई कुन सूचीमा राख्ने भन्ने अन्तिम निर्णय हुने र त्यो रिपोर्ट आउँदो असोजमा प्रकाशन हुनेछ । उक्त प्रतिवेदनमार्फत नेपाल ग्रे लिस्टमा परेको औपचारिक घोषणा हुने स्रोतले बताएको छ । आजका पत्रपत्रिकामा खबर छन् ।