Trending :
 

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलीसम्मका लागि स्थगित

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै उठेर विरोध गरेका छन् ।
 
प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेबित्तिकै आज दोस्रो दिन पनि राजीनामा माग गरेका हुन् ।
 
आजको बैठकमा  विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए ।
 
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक बस्न आग्रह गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागौँला भन्दै बस्न गरेको आग्रहलाई समेत एमालेका सांसदहरुले अस्वीकार गर्दै उठिरहेपछि अध्यक्ष तिमिल्सिनाले बैठक शुक्रबार बस्नेगरी स्थगित भएको जानकारी दिए ।
 
उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए ।  प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।