स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । 
 
जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ ।
 
भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । 
 
रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको छु ।”  
 
रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा रू ८० लाख बराबर खर्च गरिसकेको जानकारी दिनुभयो । “चितवनमा साथीले कु्रिलो खेतीबाट मनग्ये आम्दानी गरेको देखेपछि यहाँ व्यावसायिक खेती सुरु गरेको छु”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भइरहेको छ, बजार पनि फराकिलो बन्दै गएकाले अर्को वर्ष दैनिक ४० किलो उत्पादन गर्ने लक्ष्यका साथ काम गरिहेको छु ।”
 
हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । “उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ”, उहाँले थप्नुभयो, “कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।” 
 
दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीले जिकिर गर्नुभयो । रासस