Trending :
 

भाजपाको निमन्त्रणामा माओवादीका नेताहरू भारत भ्रमणमा जाने

आषाढ २१,२०८०

-आस्था न्यूज

असार २१, २०८० काठमाडौं । 
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादीका शीर्ष नेताहरू भारत भ्रमणमा जाने भएका हुन्।
 
पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेका हुन्। भारतीय जनता पार्टीले (भाजपालाई जान्नुस्) अभियान सञ्चालन गरिरहेको छ। 
 
सोही अभियानअन्तर्गत भाजपाले नेपालबाट माओवादी केन्द्रका नेताहरू र बंगलादेशबाट सत्तारुढ दल अवामी लिगका नेताहरूलाई भारत भ्रमणमा बोलाउने निर्णय गरेको छ।
 
भारत बसाईका क्रममा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्। मिति सार्वजनिक नभए पनि उनीहरू छिट्टै भारत भ्रमणमा जाने माओवादी केन्द्रका एक नेताले बताए।
 
त्यस्तै अध्यक्ष नड्डाले बुधबार नयाँ दिल्लीस्थित विभिन्न दूतावासका प्रतिनिहरूसँग छलफल गरेका छन्।