मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
-आस्था न्यूज
असार २१, २०८० काठमाडौं ।
बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताउनुभएको हो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिनुभयो । “सधैँ मलको अभाव देखिन्छ, आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दैगर्दा उर्वर जमिन सुक्खा बन्दै गएका छन्, कालोबजारी, वितरण प्रणालीजस्ता क्षेत्रमा समस्या देखिएका छन्, यसलाई छिट्टै टुङ्गो लगाऔँ, नीतिगत समस्या भए समाधान गरौँ र कानुनी प्रक्रिया फुकाउँदै जाऔँ”, उहाँले भन्नुभयो ।
त्यस्तै सांसद विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । उहाँले हाम्रो मागको यकिन गरी आवश्यक परे आपूर्ति व्यवस्था सहज बनाउन कानुनी अड्चन भए त्यसलाई फुकाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै दीर्घकालीनरूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उहाँको भनाइ छ । बैठकमा सांसद गङ्गा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन र नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्थ गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गर्नुभयो ।