कोशीमा नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ, असंवैधानिक भन्दै एमाले सर्वोच्चमा
-आस्था न्यूज
असार २२, २०८० काठमाडौं ।
कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गसाएका हुन् ।
तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो । तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए ।
माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित पनि नभएपछि मुख्यमन्त्री थापाले कांग्रेसले प्रदीपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को कार्य विभाजनपछि हुने जनाएको छ ।
उता, सरकारबाट बाहिरिनु परेपछि एमाले सर्वोच्च अदालतमा पुगेको छ । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा मुद्दा दायर गरेको छ ।
सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएको भन्दै एमाले रुष्ट बनेको छ ।
एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।