धान खेतीभन्दा माछाबाट तेब्बर आम्दानी

आषाढ २२,२०८०

-आस्था न्यूज

असार २२, २०८० काठमाडौं ।
धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो ।
 
प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका छ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि व्यावसायिक माछापालन भइरहेको छ । कचनकवल, हल्दिबारी र कमल गाउँपालिका तथा गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकामा हाल दुई वर्षीय परियोजना अन्तर्गतको माछा ब्लक सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
 
धानभन्दा तीन गुणा बढी माछाबाट आम्दानी हुने गरेको कार्यालयका मत्स्य विकास शाखाका निमत्त प्रमुख केदारकुमारी अधिकारीले बताउनुभयो । उहाँले एक कट्ठा जमिनमा पालिएका माछाले सोही जमिनमा उत्पादन गरिएको धानको भन्दा तीन गुणा बढी आम्दानी दिने जानकारी दिनुभयो । उहाँले परियोजनाले दश वर्ष कार्यक्रम सञ्चालन गर्ने तयारीअनुसार ब्लक विकास कार्यक्रम सञ्चालन गरे पनि अब दुई वर्षमात्र चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला १० वर्ष चलाउने भन्ने थियो कार्यक्रम, तर दुई वर्षमै सकियो ।” उहाँले पाँच हेक्टर जमिनमा ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । 
 
परियोजनाअन्तर्गत क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा रु २५ लाख र यान्त्रिकीकरणमा रु डेढ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । जिल्लामा हाल तीन सय ६५ हेक्टर जमिनमा व्यावसायिक माछापालन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले विगतको भन्दा फरक किसिमले किसानले माछा पाल्न थालेको जनाउँदै भन्नुभयो, “एउटै पोखरीमा कार्प जातका नौ प्रकारका माछा पाल्न थालेका छन्, जसले किसानलाई झनै ठूलो फाइदा भएको छ ।”
 
जिल्लामा हाल थाइल्यान्डबाट ल्याइएको पङ्गासेस र कार्प जातका माछापालन बढी हुने गरेको छ । उहाँले विग्रेट, सिल्भर, कमन ग्रासकार, रौँ, नैनी, भ्याकुर जातका माछा एउटै पोखरीमा किसानले पालिरहेको बताउनुभयो । उहाँले एक कट्ठा जमिनमा दुई हजार माछा पाल्न सकिने जानकारी दिनुभयो ।