Trending :
 

महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह

आषाढ २२,२०८०

-आस्था न्यूज

असार २२, २०८० काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गर्नुभएको छ । 
 
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा समितिको यसअघिको निर्देशनमा महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाइएको निर्णयमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।
 
मन्त्री भण्डारीले भन्नुभयो, “समितिबाट वैदेशिक रोजगारमा महिला कामदारका विषयमा ठोस् निर्णय र अवधारणा आओस् । अहिले पनि पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनीरूपमा हजारौँ महिला रोजगारीका लागि विदेश गइरहेको अवस्था छ, त्यसलाई रोक्न वैधानिक र व्यवस्थित गरी सरल र सहज बाटो बनाउन आवश्यक छ ।” 
 
अवैधानिकरूपमा जाने कामदारले वैदेशिक रोजगार र राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित हुने मात्र नभई कामदारको अवस्थाबारे जानकारी प्राप्त गर्न कठिनाइ हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समितिको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । 
 
संयुक्त अरब इमिरेट्स (युएई), कुवेतलगात खाडीका मुलुकमा करिब २० हजारभन्दा बढी महिला श्रमिक रहेको सूचना प्राप्त भएको जनाउँदै उहाँले महिला कामदारलाई वैदेशिक रोजगारीमा जान सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । 
 
विगतमा वैदेशिक रोजगारमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका धेरै घटना सार्वजनिक भएसँगै समितिले महिला श्रमिकलाई घरेलु कामदारमा पठाउन रोक लगाएको थियो । 
 
बेलायतमा नेपाली नर्स पठाउनेसम्बन्धी छनोटलाई व्यवस्थित र प्रभावकारीरूपमा अघि बढाउने समझदारीको कार्यान्वयनको ढाँचा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिँदै उहाँले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा सीपयुक्त जनशक्तिलाई रोजगारीको अवसर खोज्दै जाने नीति लिइएको बताउनुभयो ।