सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका १६३ चिकित्सक कामविहीन

आषाढ २४,२०८०

-आस्था न्यूज

असार २४, २०८० काठमाडौं ।
सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका एक सय ६३ चिकित्सकलाई सरकारले छात्रवृत्ति करारनामाअनुसार पोस्टिङ गर्न सकेको छैन । चिकित्सा शिक्षा आयोगबाट छात्रवृत्तिमा खुलातर्फबाट पढेर आएका उनीहरूलाई पोस्टिङसँगै पारिश्रमिक दिन बजेट अभाव भएको भन्दै काममा लगाउन नसकेको हो । 
 
छात्रवृत्तिमा पढेका चिकित्सकले अध्ययनपछि आफ्नै दरबन्दीमा पोस्टिङ भए पनि खुलातर्फबाट छात्रवृत्ति पाएर आउने आयुर्वेद, एमडीरएमएस र एमएसबाहेक अन्य विद्यार्थीलाई पोस्टिङ गर्न समस्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल एमफर्मा गरेका १३, नर्सिङ ७६, एमपिएच ५८, एमफिल तीन, एमएस्सी सात र एमएस्सी-आइटी पाँचजनाको व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयको भनाइ छ । 
 
‘पढेर आएका चिकित्सकलाई कुन पदमा खटाउने भन्ने कार्यविधि नभएको र तलब–भत्तासमेत सुनिश्चित गर्न नसकिएकाले काममा खटाउन नसकिएको हो,’ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले भने । चिकित्सकलाई कहाँ खटाउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको डा। पौडेलको भनाइ छ । 
 
एमडीरएमएस र एमडिएसबाहेकलाई नवौँ तहमा पठाउने ठाउँ नभएको भन्दै अन्य चिकित्सकलाई काममा लगाउन नसकेको हो । चिकित्सा शिक्षा आयोगअन्तर्गत पहिलो र दोस्रो ब्याचका ६ सय ४१ मध्ये नेपाल सरकारतर्फका एक सय ९४ र खुलातर्फका चार सय ४७ जनाले स्नातकोत्तर पास गरे पनि खुलातर्फबाट छात्रवृत्ति पाएर आउने आयुर्वेद, एमडीरएमएस र एमएसबाहेक अन्य विद्यार्थीलाई पोस्टिङ गर्न समस्या भएको मन्त्रालयले जनाएको छ । 
 
तर, बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी अपुग भएको चिकित्सा शिक्षा आयोगले प्रक्षेपण छ । मन्त्रालयले पोस्टिङ गर्ने ठाउँ उपलब्ध नभएको बताउँदै आए पनि यी विषयमा स्नातकोत्तर गरेका चिकित्सक सयौँको संख्यामा आवश्यक रहेको नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण, ०७९–८७ ले जनाएको हो । उक्त प्रक्षेपणअनुसार नर्सिङ स्नातकोत्तरअन्तर्गत नर्सिङ जनशक्ति दुई ४२ जना आवश्यक छन् । 
 
हाल कार्यरत रहेका नर्सिङ स्नातकोत्तरतर्फ अझै ११।९५ प्रतिशतले वृद्धि गर्नुपर्ने नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपणले जनाएको छ । नेपालमा उत्पादन भएका एक सय ४० जनामध्ये हाल एक सय ३३ जना मात्र कार्यरत रहेको तथ्यांक छ । आजको नयाँ पत्रिकामा खबर छ ।