प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएर संसद् सुचारु गर्ने ओली र देउवाबीच समझदारी
-आस्था न्यूज
असार २४, २०८० काडमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।
प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको एमाले नेताहरुले बताएका छन् । असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको थियो ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री बैठकको सुरुमा बोल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको जानकारी दिए ।