Trending :
 

राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक

आषाढ २५,२०८०

-आस्था न्यूज

असार २५,२०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९/०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । 
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यस्तै आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ ।
 
यसैगरी  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ।  यस्तै शोधनान्तर स्थिति रु २२८ अर्ब ९८ करोडले बचतमा रहेको बताएको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति रु १,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको जनाएको छ । 
 
यसैगरी संघीय सरकारको खर्च रु १,१७६ अर्ब ७ करोड र राजस्व परिचालन रु ८३६ अर्ब ८५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । 
 
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।