Trending :
 

बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार सुरु भएको अर्थमन्त्रीको भनाई

आषाढ २५,२०८०

-आस्था न्यूज

असार २५, २०८० काठमाडौं ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताउनुभएको छ ।
     
रासससँग आज अर्थमन्त्रालयमा कुरा गर्नुहुँदै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने उहाँको भनाइ छ । “अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ । यसबाट दोस्रो चरणको शुरुआत भएको छ । यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ । यसलाई कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र लयमा फर्किन्छ”, अर्थमन्त्री महतले भन्नुभयो । 
 
नेपालले ५० को दशकमा आर्थिक उदारीकरण र खुला बजार अर्थतन्त्रको नीति अँगालेसँगै पहिलो चरणको आर्थिक सुधारको शुरुआत भएको थियो । आगामी आर्थिक वर्षको बजेटले दोस्रो चरणको आर्थिक सुधारको जग बसाल्ने अर्थमन्त्री महतले बताउनुभयो ।
 
स्रोत सुनिश्चितता नगरी बजेट विनियोजन गर्ने प्रवृत्तिले अर्थतन्त्रको आन्तरिक संरचनामा समस्या देखिएको उहाँको भनाइ छ । त्यस्तै, अहिले आर्थिक सूचकहरू सुध्रिँदै गएको पनि अर्थमन्त्री महतको दावी छ । “अर्थतन्त्र सुधारोन्मुख छ । विदेशी मुद्राको सञ्चिति बढिरहेको छ । पर्यटन क्षेत्र लयमा फर्किरहेको छ । ब्याजदर पनि घट्ने सङ्केत देखिएको छ”, उहाँले भन्नुभयो, “पूँजीगत खर्चलाई प्रभावकारी बनाउनेगरी बजेटमा बुँदागत व्यवस्था राखिएका छन् । त्यसलाई हामीले सक्रियतापूर्वक कार्यान्वयन गर्छौं ।” 
 
अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट थप केही नयाँ व्यवस्थाहरू आउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।