पनौती नगरपालिकाको बजेट एक अर्ब ५० करोड विनियोजन
-आस्था न्यूज
असार २६, २०८० काठमाडौं।
काभ्रेको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्रौ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।
सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ । यस्तै सभाले २०७९/८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ ।
यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो । कर्मचारीसम्बन्धी ‘ओएनएम सर्वे’सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेन । सोमबार आयोजित सभामा भने उक्त प्रस्ताव कार्यसूचीमा समावेश नै गरिएन ।
भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष नगरस्तरीय योजना ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय सबै र वडास्तरीय रु १० लाखभन्दा माथिका सबै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख छ । तर बजेटमा जनसहभागितामार्फत रु ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा ‘पनौती नगरको दिगो विकासको आधारः गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ नारालाई सार्थक बनाउन समृद्ध पनौती निर्माण अभियानलाई तीव्रता दिने, ‘नदी एवं खानीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा ढुवानीलाई व्यवस्थित गराउँदै वडा नं २ र १२ का प्रभावित क्षेत्र सिमाङ्कन गरी खानीजन्य क्षेत्र घोषणा गरिने जनाइएको छ ।
नगर क्षेत्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवर्द्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, वडा कार्यालयसम्मका सडक कालोपत्र, सिसी क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेसिनको प्रबन्ध गर्ने उल्लेख छ ।