सिभिल अस्पतालमा नियमविपरीत निःशुल्क उपचार गराएका मन्त्रीदेखि सचिवसम्मले तिरे बिल

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं। 
निजामती कर्मचारी (सिभिल) अस्पतालमा नियमविपरीत निस्शुल्क उपचार तथा स्वास्थ्य सुविधा लिएका मन्त्री तथा सचिवहरूले शुल्क तिरेका छन् । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीदेखि अस्पतालका तत्कालीन बोर्ड अध्यक्षसमेत रहेका निवर्तमान मुख्यसचिव र सचिवहरूसम्मका पहुँचवालाले  निःशुल्क उपचार गराएका थिए । 
 
अस्पतालले उच्चपदस्थलाई ‘डाइरेक्टर डिस्काउन्ट’ भनेर उपचारमा शतप्रतिशत छुट दिएको थियो । त्यसबारे १८ असारमा नयाँ पत्रिकाले ‘सिभिलमा मन्त्रीदेखि सचिवले लिए निःशुल्क उपचार’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उनीहरूले उपचार शुल्क बुझाएको अस्पतालले जनाएको छ ।
 
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधाननिधि पौडेलले पनि मन्त्री तथा सचिवहरूले छुटको बिल भुक्तानी गरेको पुष्टि गरे । ‘कानुनबमोजिम पाउने सुविधा कटाएर उहाँहरूले बिल भुक्तानी गर्नुभएको छ,’ उनले भने । 
 
उनीहरूले कानुनबमोजिम प्राप्त सुविधाबाहेक नियमविपरीत लिएको छुटको रकम तिरेका हुन् । अस्पताल प्रशासन स्रोतबाट प्राप्त विवरणअनुसार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले तीन हजार १० रुपैयाँ बुझाएका छन् । ०७९ भदौमा उनले १० प्रकारका स्वास्थ्य परीक्षण गराउँदा उठेको बिलमा शतप्रतिशत छुट लिएका थिए । 
 
सिभिल अस्पतालका तत्कालीन बोर्ड अध्यक्षसमेत रहेका निवर्तमान मुख्यसचिव शंकरदास बैरागीले ३८ हजार एक सय ८३ रुपैयाँको बिल भुक्तानी गरेका छन् । उनी अहिले प्रधानमन्त्री कार्यालयका सुरक्षा सल्लाहकार छन्  । ०७९ साउन र असोजमा दुईपटकको उपचारमा ५३ हजार नौ सय ६० रुपैयाँ बिल उठेकोमा शतप्रतिशत छुट लिएका थिए । १४ असोजमा भर्ना भएर ६ दिन अस्पताल बसेका उनलाई दैनिक आठ हजारका दरले तोकिएको बेडबापतको पूरै शुल्क ४८ हजार छुट दिइएको थियो । 
 
उपचार र लिएको छुटको सबै हिसाब गरेर उनले बिल भुक्तानी गरेका छन् । अस्पतालमा राजपत्रांकित कर्मचारीले पाउने ४० प्रतिशत छुटको उपचार सुविधा उपयोग गरेर उनले बिल भुक्तानी गरेका छन् । 
 
त्यस्तै, पर्यटनसचिव सुरेश अधिकारीले पनि बिल भुक्तानी गरेका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयको सचिवमा कार्यरत रहँदा ०७९ भदौमा सिभिलमा १२ थरी परीक्षण गराउँदा उठेको सबै पाँच हजार चार सय १० रुपैयाँ छुट लिएका थिए । आफू एकपटक कोभिड र अर्कोपटक डेंगु भएर अस्पतालमा बसेको, तर छुटबारे थाहा नभएको सचिव अधिकारीले बताएका थिए । छुट लिने कुरा गलत भएको र उक्त रकम तिर्ने उनले बताएका थिए । 
 
अस्पताल स्रोतबाट प्राप्त विवरणअनुसार अधिकारीले तीन हजार दुई सय ४६ रुपैयाँ भुक्तानी गरेका छन् । सचिव अधिकारीले आफ्नो नाममा छुट देखिएको रकम तिरेको प्रतिक्रिया दिए ।
 
त्यस्तै, अर्थसचिव अर्जुनप्रसाद पोखरेलले पनि दुई हजार सात सय ६० रुपैयाँ बुझाएका छन् । पोखरेलले ०७९ भदौमा १४ थरीका स्वास्थ्य परीक्षण गराएकामा अस्पतालले सबै चार हजार खर्च छुट दिएको थियो । सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा उनले निःशुल्क उपचार गराएका थिए । तर, आफूले अस्पतालसँग छुट नमागेको पोखरेलको दाबी थियो । नियतवश र कानुनविपरीत छुट नलिएको र कानुनविपरीत छुट दिने अधिकार अस्पताललाई पनि नभएको उनले बताएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।