Trending :
 

प्रधानमन्त्री कप अन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ ।  
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा आज भएको पहिलो खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । 
 
एपिएफले खेलको पहिलो सेट २५-९, दोस्रो सेट २५-१२ र खेलको तेस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै एपिएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । 
 
त्यस्तै दुई खेलमा छ अङ्क जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ ।