Trending :
 

सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको केपी ओलीको आरोप

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाएका छन् । 
 
 मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । 
 
‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन । यिनीहरुले के गर्छन् अन्त ?’
 
उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए । ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ । अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ’, ओलीले भने, ‘त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो ।’